नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक : प्रधानमन्त्री मोदी
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार नयाँदिल्लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत नेपाललाई भारतको ‘पडोसी पहिलो’ नीतिअन्तर्गत प्राथमिकतामा रहेको साझेदार राष्ट्र भएको उल्लेख गरेका हुन्।
उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग मिलेर काम गर्न भारत उत्सुक रहेको बताएका छन्।
“नेपाल हाम्रो ‘पडोसी पहिलो’ नीतिको महत्वपूर्ण साझेदार हो। दुई देशबीचको विशिष्ट सम्बन्धलाई अझ मजबुत बनाउँदै साझा समृद्धिका लागि सहकार्य गर्न हामी तत्पर छौँ,” मोदीले उल्लेख गरेका छन्।
प्रधानमन्त्री मोदीले साझा र समृद्ध भविष्य निर्माणका लागि सहकार्य गर्ने रास्वपा सभापति रवि लामिछानेको प्रतिबद्धताको स्वागत गर्दै त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको पनि बताएका छन्।
भेटवार्तामा भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
त्यसैगरी नेपाली प्रतिनिधिमण्डलमा सभापति रवि लामिछाने, उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, स्वकीय सचिव प्रदीप आचार्य तथा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी थिए।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा साझा विकासका विविध विषयमा छलफल भएको बताइएको छ।
