यति ठूलो मात्रामा रहेको अमोनियम नाइट्रेट यदि गलत हातमा पुगेको भए पूरै राजस्थानमा ठूलो विनाश निम्त्याउन सक्थ्यो।
यही आशंकाबीच भारतको राजस्थान राज्य अन्तर्गत नागौर जिल्लाको हरसौर गाउँमा सुरक्षा निकायहरूले ऐतिहासिक सफलता हासिल गरेका छन्।
प्रहरी र विशेष सुरक्षा टोलीले सुलेमान खानको स्वामित्वमा रहेको एक फार्ममा छापा मार्दै ९,५५० किलो अमोनियम नाइट्रेट, साथै डेटोनेटर र फ्युज वायर जस्ता अत्यन्त संवेदनशील विस्फोटक सामग्री बरामद गरेका हुन्। अमोनियम नाइट्रेटलाई १८७ बोरामा सुरक्षित रूपमा लुकाइराखिएको अवस्थामा फेला पारिएको थियो।
प्रहरीका अनुसार फार्म मालिक सुलेमान खान (५८ वर्ष) लाई घटनास्थलबाटै पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनी लामो समयदेखि अवैध खनन तथा विस्फोटक सामग्रीको अवैध
आपूर्तिमा संलग्न रहेको आशंका गरिएको छ। यति ठूलो परिमाणमा विस्फोटक राखिनु सामान्य आपराधिक कार्य नभई ठूलो संगठित सञ्जालसँग सम्बन्धित हुन सक्ने सुरक्षा अधिकारीहरूको भनाइ छ।
यो कारबाही गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरिएको हुँदा घटनाको संवेदनशीलता झनै बढेको छ। प्रहरीका अनुसार अमोनियम नाइट्रेट आतंककारी गतिविधि, अवैध खानी, तथा ठूलो स्तरको विस्फोटका लागि प्रयोग हुन सक्ने पदार्थ हो।
मामलामा विस्फोटक पदार्थ ऐन १८८४ र विस्फोटक पदार्थ अधिनियम १९०८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अहिले अनुसन्धानको दायरा विस्तार गर्दै यस विस्फोटकको स्रोत, आपूर्ति सञ्जाल र सम्भावित प्रयोगबारे केन्द्रीय एजेन्सीहरूसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
सुरक्षा विज्ञहरूका अनुसार समयमै गरिएको यो कारबाहीले राजस्थान मात्र होइन, सम्पूर्ण देशलाई सम्भावित ठूलो दुर्घटनाबाट जोगाएको छ।

