बालेनसँगको तिक्ततालाई सामुदायिक घृणावादमा पुर्याए ओलीले
राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘जिम्मेवार नेताहरुले भूमिका खेल्नु पर्यो, नागरिक समाज र मिडिया पनि बातावरण सम्हाल्न लाग्नुपर्यो । निर्वाचन आयोगले नेताहरुको भाषाप्रति खबरदारी गर्नुपर्छ ।
११ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगाडि बढाएको भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीचको बहस प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले अस्वीकार गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले बहसका निम्ति आफू तयार रहेको सन्देश दिएका थिए । तर ओलीसँग मञ्च शेयर गर्न आफू तयार नरहेको बालेनले प्रतिक्रिया दिए । ओलीकै स्टाटसमा प्रतिक्रिया लेखेर प्रस्ताव अस्वीकार गर्ने क्रममा बालेनले गम्भीर आरोप नै दोहोर्याए, ‘आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यसपछि अरू कुरा गरौला !’
जेनजी विद्रोहका क्रममा ७६ बालबालिका हत्याको आरोप लगाउँदै बालेनले ओलीलाई ‘हत्यारा’ भनेका छन् । ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,’ बालेनले लेखेका छन् ।
जवाफमा बालेनले प्रयोग गरेको भाषाले चुनावी बातावरण तिक्ततातिर धकेलिन सक्ने जोखिम बढाएको मात्र छैन, राजनीतिमा घृणाको अभिव्यक्तिले प्रश्रय पाउने उत्तिकै सम्भावना छ ।
तर जेनजी विद्रोहका घटनाबारे निष्कर्ष निकाल्न जाँचबुझ आयोगले काम गरिरहँदा परिस्थितिलाई उत्तेजनातिर धकेल्नेगरी बालेनलाई बोल्न बाध्य पार्न भने ओलीकै अभिव्यक्तिहरूले बल पुगेको देखिन्छ ।
प्रधानमन्त्रीका उम्मेदवारहरूबीच बहस प्रस्ताव राख्दा नै ओलीले ‘देश जलाउने र देश बनाउने’ भनेर कित्ताकाँट मात्र गरेका छैनन्, २४ भदौको विध्वंशको कित्तामा बालेनलाई उभ्याउने प्रयत्न गरेका छन् । ‘नयाँ-पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ,’ ओलीले लेखेका छन् ।
बालेनको नाम नलेखे पनि ओलीको आशय बुझ्न गाह्रो पर्दैन । झापा–५ मा आफूसँग चुनावी प्रतिस्पर्धा गर्न आएका बालेनविरूद्ध ओलीले चर्को आक्रोश पोखिरहेका छन् ।
गत ६ माघमा उम्मेदवारी दर्ता गराउन झापा पुगेका ओलीले कान्तिपुरसँगको अन्तार्वार्तामा त केही आपत्तिजनक शब्द नै प्रयोग गरेका थिए । काठमाडौंका पूर्वमेयर बालेनको व्यक्तिगत सामथ्र्य र निष्ठामाथि प्रश्न उठाउँदा ओलीले क्षेत्र विशेष र समुदायको भावनामा चोट पुग्नेगरी टिप्पणी गरे ।
‘दमक सफा नगरहरू मध्ये पर्छ । व्यवस्थित नगरहरू मध्ये पर्छ । यो महोत्तरी धनुषा जस्तो अवस्थामा होइन, त्यो भन्दा धेरै एड्भान्स छ,’ ओलीले भनेका छन्, ‘अब उहाँ (बालेन) त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा अब उहाँले यहाँ गुइँठा बाल्न सिकाउनु हुन्छ कि के गर्नु हुन्छ मलाई थाहा छैन ।’

ओलीको यस्तो अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ । विशेषगरी मधेश प्रदेशका एमाले नेताहरूलाई ओली अभिव्यक्तिको प्रतिरक्षा गर्न गाह्रो परिरहेको देखिन्छ । ‘चारपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले कुनै जिल्ला र समुदायलाई अपमानित गर्नेगरी बोल्नु हुन्थेन,’ मधेश एमालेका एक नेता भन्छन्, ‘चुनावकै बेला यस्तो बोलिदिनु भयो, अप्ठ्यारो परिरहेको छ ।’
मधेशी समुदायलाई आक्रोशित पार्नेगरी ओलीले टिप्पणी गर्नुको पृष्ठभूमिमा भने बालेन नै छन् । जेनजी आन्दोलन अघिबाटै बालेनसँग ओलीको सम्बन्ध राम्रो छैन ।
जेनजी आन्दोलनका क्रममा नृशंस राज्य दमन भएपछि त तत्कालीन प्रधानमन्त्री ओलीलाई बालेनले ‘आतंकवादी’कै संज्ञा दिएर स्टाटस लेखे । २४ भदौको विध्वंश हुनुमा बालेनको स्टाटसले उक्साउने भूमिका खेलेको नेताहरूले तर्क गर्दै आएका छन् । एमाले आरोपहरूमा बालेनले चाहिँ कुनै सार्वजनिक जवाफ दिएका थिएनन् ।
बरू मेयरबाट राजीनामा दिएर रास्वपा प्रवेश गर्ने, झापा–५ मै गएर ओलीलाई हराएर प्रधानमन्त्री बन्ने जस्ता तयारी गरिरहेका थिए । ५ माघमा जनकपुरमा आयोजित सभाबाट उनले देशको प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्|


