नेपाल महिला यू-१९ विश्वकप क्रिकेटमा अष्ट्रेलियासँग
८३ रनको पराजय बेहोर्न पुगेको छ। मलेसियास्थित वाईएसडी-यूकेएम ओभल क्रिकेट मैदानमा भएको समुहचरणको अन्तिम खेलमा नेपाल पराजित भएको हो।
अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ५६ रन बनाउन सक्यो। कप्तान पूजा महतो १८ रनसहित नेपालको सर्वाधिक स्कोरर रहिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। अष्ट्रेलियाका जुलियट मोर्टन, लिली बासिङथ्वेट र हसरत गिलले दुई–दुई विकेट लिए।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। अष्ट्रेलियाका लागि किम्ही ब्रायले ३४ बलमा ३ चौका र ३ छक्कासहित ४५ रन बनाए भने एलिनोर लारोसाले ३९ बलमा ३ चौकासहित ३१ रन योगदान गरिन्। हसरत गिलले ३० रन जोडिन्, क्लो क्याथरिन १६ रनमा अविजित रहिन्, र इनिस अकेकोनले ८ रन बनाए।
नेपालका लागि बलिङतर्फ कप्तान पूजा महतोले ३ विकेट लिइन्। सीमाना केसीले २ विकेट र रिया शर्माले १ विकेट हात पारे।
यो हारसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो पराजय व्यहोरेको छ। यसअघि नेपाल बंगलादेशसँग ५ विकेट र स्कटल्याण्डसँग १ विकेटले पराजित भएको थियो।
अर्कोतर्फ, अष्ट्रेलियाले समूहचरणका सबै खेल जित्दै सुपर सिक्समा स्थान सुरक्षित गरेको छ। अष्ट्रेलियाले यसअघि स्कटल्याण्डलाई ९ विकेटले र बंगलादेशलाई २ विकेटले पराजित गरेको थियो।

