बझाङमा दुई दिनमा तीन पटक भूकम्पको धक्का
पछिल्लो दुई दिनमा बझाङ जिल्लामा तीन पटक भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि मंगलबार साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो। सोही दिन बिहान १ बजेर २ मिनेटमा बझाङकै रायल केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको थियो।
नेपाल भूकम्पीय जोखिमका हिसाबले अत्यधिक संवेदनशील मानिन्छ। विशेष गरी पश्चिम नेपालको भूगर्भमा लामो समयदेखि ऊर्जा सन्चित भएकाले यहाँ ठूला भूकम्पको जोखिम अझै उच्च रहेको विज्ञहरुले बताएका छन्।
विज्ञहरुका अनुसार ठूला क्षतिबाट जोगिन भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न र आपतकालीन उद्धार तयारीमा ध्यान दिन आवश्यक छ। यद्यपि साना धक्कालाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने भन्दै उनीहरुले भूगर्भीय ऊर्जा क्रमशः निस्कनु राम्रो संकेत भएको बताएका छन्।
नेपालमा ठूला भूकम्पको इतिहासमा २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पमा ८ हजार ९७० जनाको ज्यान गएको थियो। त्यस्तै, २०८० साल कात्तिक १७ गते जाजरक केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा १५० भन्दा बढीले ज्यान गुमाएका थिए |

