विश्वप्रकाशसँगको सम्बन्ध महाधिवेशनपछि पनि जान्छ, शेखरसँग भन्न सक्दिनँ : गगन थापा
अनलाइनखबरसँगको संवादमा महामन्त्री थापाले भने,‘विश्वप्रकाश शर्मासँगको सहयात्राको कुरा चाहिं यो अधिवेशन मात्रै होइन, अगाडिका अधिवेशनसम्म जान्छ । सम्बन्धमा तल माथि हुँदैन । पूर्ण विश्वासका साथ भन्नसक्छु ।’
७ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको सम्बन्धका बारेमा भन्ने सक्ने तर नेता डा. शेखर कोइरालासँगको सम्बन्ध अनिश्चित रहेको बताएका छन् ।
महामन्त्री थापाले आफ्नो र शर्माको विगत देखि अहिलेसम्मको सम्बन्धलाई हेरेर समूह भने पनि फरक नपर्ने बताए । शर्मासँगको सम्बन्ध महाधिवेशन पछिसम्म पनि समान रुपमा अघि बढ्ने थापाले दाबी गरे ।
अनलाइनखबरसँगको संवादमा महामन्त्री थापाले भने,‘विश्वप्रकाश शर्मासँगको सहयात्राको कुरा चाहिं यो अधिवेशन मात्रै होइन, अगाडिका अधिवेशनसम्म जान्छ । सम्बन्धमा तल माथि हुँदैन । पूर्ण विश्वासका साथ भन्नसक्छु ।’
थापाले जुन विश्वासका साथमा शर्मासँगको सम्बन्धको निरन्तरता सकिने त्यही रुपमा नेता कोइरालाका बारेमा भन्न नसक्ने बताए । सम्बन्ध सुधारका लागि आफ्नो प्रयास रहे पनि सुध्रिने वा विग्रनेमा कोइरालाको व्यवहारमा निर्भर हुने थापाले बताए । पछिल्लो समय कोइरालासँग संवाद समेत नरहेको उनले बताए ।
‘विश्वप्रकाशको सम्बन्धमा किन भन्न सकें भने उहाँसँग निरन्तर संवादमा छु । मैले सोचें जस्तै उहाँले कसरी सोच्नु भएको छ भन्ने मलाई थाहा छ,’ थापाले भने,‘म शेखर डा साबसँग संवादमा छैन । उहाँ कसरी सोचिरहनु भएको छ, मलाई थाहा छैन ।’
कोइरालाले समूहको बैठक डाक्न छोडेको दुई वर्ष भएको थापाले दाबी गरे ।
१५ औं महाधिवेशनमा पार्टीभित्रको समीकरण धेरै परिवर्तन हुने उनले बताए । महामन्त्री शर्मासँगको सम्बन्धलाई सबैभन्दा प्राथमिकतामा राखेर अघि बढ्ने उनले जानकारी गराए ।
थापाले सभापति शेरबहादुर देउवासँग महाधिवेशन केन्द्रित समीकरणका लागि हालसम्म संवाद नै नगरेको दाबी गरे । सांगठनिक निर्णयका लागि सभापतिले मिलेरै काम गर्नुपर्ने उनले बताए ।
‘१५ औं महाधिवेशनलाई लिएर दुई महामन्त्रीले गरेको कुरा के हो भने त्यो बेलासम्म तपाई सभापति हो । तपाईलाई त्यो बेलासम्म शतप्रतिशत सहयोग गर्छौं । त्यो भनेको सभापतिका रुपमा सहयोग गर्ने हो,’ महामन्त्री थापाले देउवासँगको उद्धृत गर्दै भने,‘हामीलाई पनि महामन्त्रीका रुपमा काम गर्न दिनुस् । अहिले देखि नै तपाई र हामीलाई नै महाधिवेशन लाग्यो भने त अधिवेशन चाहिं कसले गराउने हो भनेका हौं ।’
थापासँगको अन्तर्वार्ता केही बेरपछि अनलाइनखबरमा प्रकाशित हुनेछ ।

