बालबालिकाको हातमा स्मार्टफोन, अभिभावक अम्मली बन्ने कि ‘रोल मोडल’ ?
Highlights
- स्मार्टफोनको अम्मलले शारीरिक समस्याजस्तै निद्रा नलाग्ने, मोटोपना बढ्ने, अस्वस्थ खानेकुरा खाने बानी बस्ने, टाउको दुख्ने, माइग्रेन हुने, मस्तिष्कका केही भागमा परिवर्तन ल्याउनेजस्ता हानि गर्न सक्छ
- विश्व स्वास्थ्य संगठनका अनुसार १ वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनै हुँदैन, २ देखि ४ वर्षका बालबालिकालाई भने दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउन हुँदैन
काठमाडौँ —काठमाडौंको रातोपुलस्थित किड्स क्याम्पस मन्टेश्वरीकी प्रिन्सिपल अनु अधिकारीको फोनमा एक दिन घण्टी बज्यो । नजिक रहेका बालबालिकाले चनाखोपूर्वक हेरे । मन्टेश्वरीको ग्राउन्डमै उभिएर फोन रिसिभ गरेकी उनले कुराकानी सकेकी मात्र के थिइन्, एउटा बालक खुर्रर दौडिएर उनी छेउ आए, फोन मागे
अधिकारीले स्कुलमा फोन चलाउन हुँदैन भन्दै सम्झाइन् । बालकले फोन नपाएर रुन र कराउन थालेपछि अधिकारीलगायत स्कुलका अन्य शिक्षकले बल्लतल्ल थुम्थुमाए ।
बालक शान्त त भए तर अधिकारीको मन शान्त हुन सकेन । उनी घोत्लिइन्, ‘१५ वर्षको अनुभवमा यस्तो कहिल्यै भएको थिएन । हिजोआज किन यस्तो छ ?’ ‘साना बालबालिकाको त के दोष ? अभिभावकले नै बानी लगाउनुभएको हुन्छ,’ साना बालबालिकामा परेको स्मार्टफोनको लतको विषयमा अधिकारीले आफ्नो अनुभव सुनाइन्, ‘हालै आफ्नी छोरीलाई भर्ना गराउनुभएका एक अभिभावकलाई, तपाईंको नानीले केही खान मान्दिनँ भनेर हामीले बतायौँ । उहाँले फोन देखायो भने ज्ञानी भएर खान्छे । फोन देखाएरै भए पनि खुवाइदिनु भन्नुभयो । बिग्रेकै यसरी हो ।’
किड्स क्याम्पसमा साढे २ देखि ६ वर्षका बालबालिका भर्ना छन् । अचेल स्क्रिन देखाएर छोराछोरी ज्ञानी हुन्छ भन्ने अभिभावक धेरै आउने गरेको अधिकारीले बताइन् । उनको जस्तो अनुभव सुनाउँछिन् बालरोग विशेषज्ञ डाक्टर निभा राजभण्डारी । उनका अनुसार एक अभिभावकले लगभग साढे ४ वर्षकी छोरी एबी (नाम परिवर्तन) लाई जाँच गराउन ल्याएका थिए । एबीलाई ‘युरिनरी ट्र्याक्ट इन्फेक्सन’ भएको रहेछ । उनलाई इन्फेक्सन निको हुने, बल्झिने भइराख्ने रहेछ । इन्फेक्सनको कारण डिहाड्रेसन अर्थात् पानीको कमी थियो ।
‘एबीलाई मोबाइल हेर्दै खाना खुवाउने गरिएको रहेछ । उनलाई जे खान पनि मोबाइल नै हेर्ने बानी लागेछ । पानी र दुध पिउनसमेत मोबाइल देखाउनैपर्ने बाध्यता रहेछ,’ निभा भन्छिन्, ‘एबी यत्तिकैमा स्कुल जान थालिन् । स्कुलमा पनि उही समस्या भयो । तर अभिभावकले शिक्षकलाई छोरीको समस्याबारे खुलाएनन् । खानेकुरा घरबाट ल्याइदिन शिक्षकले धेरै पटक भनेका पनि रहेछन् । खाना, खाजा जसोतसो खुवाए पनि पानी भने एबीले निकै कम पिउने रहेछिन् । जसका कारण एबीलाई डिहाइड्रेसन भयो र युरिनरी ट्र्याक्ट इन्फेक्सन नै हुन पुग्यो ।’
काठमाडौंको गोकर्णकी सावित्री कोइराला दिनभरि अफिसबाट थाकेर आउने भएकाले बच्चासँग समय बिताउन सक्दिनन् । त्यसैले आफूले नचाहे पनि स्क्रिन वा मोबाइल दिनैपर्ने बताउँछिन् । भन्छिन्, ‘हामी दुवैले समय दिन भ्याइरहेको हुँदैनौं । यस्तोमा के गर्ने ? घरमा उसको साथी नै फोन हो ।’
यी केही प्रतिनिधि घटना मात्र हुन् । तर अहिले अधिकांश घरमा यस्तै समस्या पाइन्छ । बालबालिकालाई स्मार्टफोनको लतले कस्तो असर पार्छ त ? अत्यधिक स्मार्टफोनको प्रयोगले किशोर–किशोरी र युवामा पर्ने असरबारे सन् २०२१ मा नेसनल लाइब्रेरी अफ मेडिसिन, फ्रन्टायर इन साइकियाट्री जर्नलमा एउटा अध्ययन प्रकाशित छ । जसमा अत्यधिक स्मार्टफोन प्रयोग डिप्रेसन, एन्जाइटी, ओसीडी (अबसेसिभ, कम्पल्सिभ डिसर्डर), एडीएचडी (अटेन्सन डिफिसिट हाइपर एक्टिभ डिसर्डर) र मदिरा सेवनसम्बन्धी समस्यासँग पनि जोडिने उल्लेख गरिएको छ ।
नेकपा एमालेबाट निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलले ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेको खबर तपाईंलाई कस्तो लाग्यो ?
स्मार्टफोनको अनियन्त्रित प्रयोगले आफ्नो संवेग (इमोसन) नियन्त्रण गर्न गाह्रो हुने, आवेगपूर्ण व्यवहार देखाउने, काममा ध्यान दिन नसक्ने, एकचित्त भएर काम गर्न नसक्ने, बच्चामा लजालुपन बढ्ने, आत्मसम्मान र स्वीकारोक्तिमा कमी आउनेजस्ता समस्या निम्ताउन सक्छ । त्यस्तै, शारीरिक समस्याजस्तै निद्रा नलाग्ने, मोटोपना बढ्ने, अस्वस्थ खानेकुरा खाने बानी बस्ने, टाउको दुख्ने, माइग्रेन हुने, मस्तिष्कका केही भागमा परिवर्तन ल्याउनेजस्ता हानि गर्न सक्छ । अध्ययनका अनुसार धेरै समय स्क्रिन चलाउँदा समग्र मानसिक, शारीरिक र सामाजिक रूपमा असर पार्छ । अधिकतम स्क्रिन प्रयोगले आँखाको थकान, घाँटी र काँधको दुखाइ बढ्छ ।
सन् २०१५ मा चाइनिज एकेडेमी अफ साइन्सेस्, वुहानको एक अध्ययनले ‘इन्टरनेट एडिक्सन डिसअर्डर’ भएका व्यक्ति र नभएका व्यक्तिको मस्तिष्कको संरचनाको तुलना गर्न ‘एमआरआई स्क्यान’ गरेको थियो । अनुसन्धानअनुसार इन्टरनेट एडिक्सन डिसअर्डर भएका व्यक्तिको मस्तिष्कका केही भागमा परिवर्तन देखियो । मस्तिष्कको यस्तो भागमा परिवर्तन देखियो, जुन निर्णय गर्ने क्षमता, अरूको भावना बुझ्ने सक्ने क्षमता र आत्म–नियन्त्रणजस्ता महत्त्वपूर्ण भूमिकासँग सम्बन्धित छ ।
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक तथा मनोचिकित्सक सरोज ओझाका अनुसार अचेल बच्चाको पढाइ कमजोर हुने, दैनिक काम राम्रोसँग नगर्ने, गृहकार्य नगर्ने, खाना राम्रोसँग नखाने, तौल अस्वाभाविक बढ्ने वा घट्ने हुने, राति नसुत्ने अथवा ढिलासम्म सुत्नेजस्ता समस्या लिएर धेरै अभिभावक आउने गर्छन् । ‘धेरै बालबालिकामा यस्तो समस्याका कारण अत्यधिक स्क्रिन टाइम भएको पाइएको छ,’ उनी भन्छन् ।
कतिपय अध्ययनले त इन्टरनेट र लागूपदार्थले एउटै तरिकाले काम गर्नेसमेत बताएका छन् । युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया (यूएससी) को डोर्नसाइफ कलेज अफ लेटर्स, आर्टस् एन्ड साइन्सेस्का प्रोफेसर र न्युरोसाइन्टिस्ट एन्टोइन विशाराका अनुसार लागू पदार्थ कोकिन र इन्टरनेटको एडिक्सनमा उस्तै गरी मस्तिष्कमा काम हुन्छ । ‘इन्टरनेट र कोकिनले मस्तिष्कमा खुसी गराउने न्युरोट्रान्समिटर, डोपामिन उत्पादन गर्छ । जसले हामीलाई बारम्बार त्यो खुसी पाउन धकेलिरहन्छ,’ विशाराले यूएससी टुडेको स्मार्टफोन र ड्रग्सको लतसम्बन्धी २०१७ मा प्रकाशित एक लेखमा उल्लेख गरेका छन् ।
त्यस्तै, स्मार्टफोनको लतले मोटोपन गराउने तर्कलाई व्याख्या गर्दै डाक्टर निभा भन्छिन्, ‘स्मार्टफोनले सिधै मोटोपना बढाउने होइन । बच्चाहरू स्क्रिन हेर्न नपाउने डरले पनि खान्छन् । तर के खाइरहेको छु भन्ने पनि थाहा नपाई खाने गरेका छन् । भोक मरेको पनि थाहा नपाएपछि धेरै खान्छन् । फेरि ध्यान दिएर नखाएपछि शरीरले छिटो र राम्रोसँग पचाउन पनि सक्दैन ।’
सन् २०२२ मा ‘जामा पेडियाट्रिक्स’ ले ३ देखि ५ वर्षका ४ सय २२ बच्चा र तिनका अभिभावकलाई लिएर एउटा अध्ययन गरेको छ । उक्त अध्ययनले बच्चालाई शान्त पार्न अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूको कार्यकारी क्षमता घटेको र सानो कुरामा छिटो उद्वेलित हुने, मनोभाव तीव्रताका साथ बदलिनेजस्ता कुरा देखायो । बालबालिकालाई शान्त पार्न बारम्बार मोबाइलको प्रयोग गर्दा, समयसँगै उनीहरूले आफ्ना भावना व्यवस्थापन गर्ने कुरा सिक्न सक्दैनन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक वर्षमुनिका बालबालिकालाई स्क्रिन देखाउनै हुँदैन । त्यस्तै २ देखि ४ वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउन हुँदैन । धेरै यस्ता अध्ययनका अनुसार वयस्कका लागि पनि कामबाहेक ३ देखि ४ घण्टाभन्दा बढी स्क्रिन हेर्नु हानिकारक हुन्छ । तर नेपालमा नै युनिसेफ र चाइल्ड सेफ नेटले कोभिडपछि बालबालिका र युवामा गरेको अध्ययनअनुसार चार जना बालबालिका वा युवामध्ये एक जनाले दिनमा १० घण्टाभन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।
जुन कोभिडअघि ७ प्रतिशत रहेकामा कोभिडपछि २४ प्रतिशत पुगेको हो । त्यस्तै, सन् २०२० मा काठमाडौं उपत्यकाका १३ देखि १७ वर्षका ५ सय किशोरकिशोरीमा गरिएको अध्ययनले झन्डै ८३ प्रतिशतसाग आफ्नै मोबाइल वा कम्प्युटर रहेको देखाएको छ । सन् २०१० मा स्टिभ जब्सले आइप्याड सार्वजनिक गर्न आयोजित कार्यक्रममा आइप्याड इन्टरनेट ब्राउज गर्न ल्यापटप र फोनभन्दा पनि उत्कृष्ट माध्यम भएको दाबी गरेका थिए ।
त्यसको केही महिनापछि न्युयोर्क टाइम्समा स्टिभ जब्सको एउटा अन्तर्वार्ता प्रकाशित भयो । स्टिभ जब्सलाई तपाईंका बच्चालाई आइप्याड निकै मन पर्छ होला भनेर प्रश्न गरियो । त्यसमा स्टिभ जब्सले आफ्ना बच्चाले आइप्याड प्रयोग नगर्ने खुलासा गरेका थिए । उनले आफ्ना बच्चाको टेक्नोलजी प्रयोगलाई सीमित गरेको बताएका थिए ।

टेक जायन्ट जब्सले नै आफ्ना बच्चालाई किन टेक्नोलजीको प्रयोग सीमित गरेका होलान् ? कारण, उनी यस्ता कुराहरूको अत्यधिक प्रयोगको हानिबारे जानकार छन् । अर्कोतर्फ, विभिन्न अध्ययनअनुसार बालबालिकालाई लक्षित गरी बनाइने सामग्री लत लाग्ने खालका हुन्छन् । मनोचिकित्सक डाक्टर रचना शर्मा पनि बच्चाले हेर्ने कन्टेन्ट धेरै लत लाग्ने खालको हुने बताउँछिन् । यी सामग्री एक–दुई पटक हेरेपछि फेरि–फेरि हेर्न मन लाग्ने उनको भनाइ छ ।
साना बालबालिकामा के असर पर्छ ?
सुरुको ३ वर्ष बालबालिकाको सम्पूर्ण विकासमा निकै महत्त्वपूर्ण हुने भएकाले उनीहरूलार्ई स्क्रिन देखाउन नहुने डाक्टर शर्मा बताउँछिन् । उनी भन्छिन्, ‘यो उमेरमा अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने, भावना बुझ्नेजस्ता काम सिक्ने हो । त्यसैले यो उमेरमा बच्चा धेरै डिभाइसमै एकोहोरियो भने उसमा कुनै यस्ता क्षमता विकास हुँदैन, जसले प्रत्यक्ष/अप्रत्यक्ष सबै क्षेत्रमा असर गर्छ । त्यसकारण पनि अचेल अत्यधिक मात्रामा भिजुअल अटिजमको समस्या समेत बढ्ने गरेको छ ।’
डिभाइसको लत लाग्ने पनि चक्र नै हुने मनोचिकित्सक डाक्टर अरुण कुँवर बताउँछन् । ‘बालबालिकाकै कुरा गर्ने हो भने, फोनको धेरै प्रयोगले स्कुल जान मन लाग्दैन र घरमा बस्छन्, अझ धेरै स्क्रिनमा समय बिताउँछन् । जसले एन्जाइटीजस्ता समस्या बढ्छ अनि त्यो बिर्साउन पनि फोन नै हेर्यो । यसरी यो समस्याको साइकल बनिरहन्छ,’ उनले भने ।
बालबालिकाले झगडा गर्ने, रिसाउनेबित्तिकै चुप बनाउन फोन वा स्क्रिन हेर्न दिनु अझ हानिकारक हुने कुँवरले बताए । त्यसैले रिसाउने, जिद्दी गर्नेजस्ता प्राकृतिक कुरालाई दबाउने होइन, राम्रोसँग व्यक्त गर्न सिकाउनेमा जोड दिनुपर्ने कुँवर बताउँछन् ।
अभिभावक नै रोल मोडल
अभिभावकले आफ्नो सहजता हेरेर बालबालिकालाई स्क्रिन देखाउने गरेको शर्माको तर्क छ । ‘सानो परिवार र व्यस्त अभिभावक भएकाले बालबालिकालाई घरमा समय दिने कोही हुँदैन र उनीहरू कुनै पनि डिभाइसमा अभ्यस्त हुन्छन्,’ शर्मा भन्छिन्, ‘विस्तारै दैनिकी नै त्यही हिसाबले बन्छ । डिभाइस नभई नहुने बानी बस्छ, डिभाइस नहुँदा रिसाउने, झिँझो मान्नेजस्ता व्यवहार देखिने शर्माले बताइन् ।
बालबालिकाको सिकाइको पहिलो खुड्किलो नै अभिभावक हुन् । अभिभावकलाई हेरेर बालबालिकाले सिक्ने ओझाको भनाइ छ । तर अचेल अभिभावकले फोन चलाएको देखेर पनि बालबालिका डिभाइसमा अभ्यस्त हुन्छन् । अभिभावकले बच्चालाई लत लागेको भन्नुभन्दा पनि आफू रोल मोडल बनिरहेको त छैन भनेर मनन गर्नुपर्ने तर्क ओझाको छ ।
फोन र डिभाइसलाई लतका रूपमा होइन, अवसरका रूपमा पनि हेर्नुपर्ने क्लिनिकल साइकोलजिस्ट तृष्णा क्षेत्रीको राय छ । प्रविधिसँग उठबस गर्ने अहिलेको पुस्तामा अभिभावक धेरै सजग हुन आवश्यक रहेको क्षेत्रीको भनाइ छ । ‘लत बसेको छ कि छैन, बालबालिकाको दैनिकीमा असर गरेको छ वा छैन, आफ्नो बच्चाले स्क्रिनमा के कस्ता सामग्री हेर्दै छ– यो सबै अभिभावकले जाँच्ने कुरा हो । राम्रो सिकाइतर्फ ढल्काउने जिम्मेवारी पनि अभिभावकै हो,’ उनी भन्छिन्, ‘सोर्स अफ इन्टरटेनमेन्टजस्तो बनाउने हो, न कि सोर्स अफ टाइम पास । बालबालिकालाई आफ्नो दैनिकीको काम सक्यो भने रिवार्डका रूपमा समय तोकेर फोन चलाउन दिने हो भने पनि यसले फोन चलाउने कुरा नकारात्मक नभई सकारात्मक बन्छ ।’
फोनलाई विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्ने क्लिनिकल साइकोलजिस्ट क्षेत्रीको तर्क छ । उनका अनुसार फोन प्रयोग गरे पनि व्यायाम गर्ने, बाहिर ठाउँ नभए भित्र खेल्ने गेमहरूमा बानी लगाउने, क्रिएटिभ कामजस्तै पेन्टिङ, नाच्न, गाउन सिक्नेजस्ता काममा लगाउनु उपयुक्त हुन्छ । ‘जे कुरा पनि धेरै हुँदा हानि हुन्छ,’ उनले भनिन्, ‘फोन पनि हेर्नेबित्तिकै बर्बाद हुने होइन । अभिभावकले मोनिटर गर्ने हो भने खासै समस्या हुँदैन ।’


